Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
ठगीको आरोपमा ६ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौँ, १ माघ । विद्यार्थीहरूलाई युएईको कलेजमा पढ्न पठाउने र त्यहाँबाट फ्रान्स र अस्ट्रेलिया ट्रान्सफर गरिदिने भन्दै ठगेको आरोपमा प्रहरीले ६ जना कन्सल्टेन्सीका सञ्चालकहरूलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार १३ जना विद्यार्थीहरूलाई ठगेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालित बेष्ट पाथ एजुकेसन प्रालिका सञ्चालक २९ वर्षीय कृष्ण थापा, काठमाडौँ–७ मा सञ्चालित मर्सि एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टन्डन, काठमाडौँ–३१ स्थित सिटीहव एजुकेसन नेटवर्कका सञ्चालक सुवास सिलवाल क्षेत्री, लजिम्पाटस्थित कान्तिपुर अबरोड कन्सल्टेन्सीका सञ्चालक ४८ वर्षीय हेमराज भट्ट र कान्तिपुर कै अर्का सञ्चालक ४८ वर्षीय दामोदर ढकालसहित ६ जना छन् ।
कन्सल्टेन्सी सञ्चालकहरूले उच्च शिक्षा अध्ययन गराउने नाममा युएईको ट्रेनिङ्क इन्स्टिच्युटहरूमा पठाएर प्रतिव्यक्ति ८ लाख देखि २२ लाखसम्म लिएको पीडितहरूले दाबी गरेका छन् । पुस ३० मा पक्राउ गरेका उनीहरूमाथि ब्युरोले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।