Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
उ खै त तिम्रै लागि बाँचेको?
उ खै त तिम्रै लागि बाँचेको?
By
Julia Thulung Rai
घाम जुन भेट्न भनी दौडेर आउँछ,
जुनले खै त बाटैमा पर्खेको?
खोला समुद्रलाई भेट्न दौडेर जान्छ,
समुद्रलाई जाबो एउटा खोला बिना डर के को?
फूल भमराकै पर्खाइमा बसिरहन्छ,
भमरा फूलकै लागि खै बसेको?
बिचरा त्यो बच्चा तारा हेर्न रातभरि परालको चाङमा बस्छ,
तर त्यो बच्चाकै लागि भनेर तारा खै त खसेको?
माटो बिरुवाकै लागि भनेर जीवनभर बाँच्छ,
बिरुवा माटोकै लागि खै बाँचेको?
झ्याउॅंकिरिले रातलाई पर्खेर मात्र कराउँछ,
रातले खै त अलिकति पनि माया साँचेको?
पीपलको रुख बतासको पर्खाइमै बसिरहन्छ,
बतास चल्दा त्यही रुखकै लागि भनेर खै आएको?
कोइली चरी प्रेमिकालाई डाक्न गीत गाइरहेछ,
प्रेमिका कोइली प्रेमी कै लागि खै गीत गाएको?
पानी माछाकै लागि जम्छ,
माछा खै पानीकै लागि भनेर नाचेको?
तिमी उसकै लागि भनेर जीवन जीइरहेछौ,
उ खै त तिम्रै लागि बाँचेको?