Nepal Newsbox
२०८३ वैशाख ६ गते , आइतबार
Nepal Newsbox
नेपाल बाइबल सोसाइटीले मनायो ५०औं वार्षिकोत्सव: इतिहास, सम्मान र नयाँ यात्राको संकल्प
नेपाल बाइबल सोसाइटीले मनायो ५०औं वार्षिकोत्सव: इतिहास, सम्मान र नयाँ यात्राको संकल्प
नयाँ संशोधित बाइबल विमोचन, पाँच दशकको योगदानको कदर र अन्तर्राष्ट्रिय शुभकामनाले भरिएको भव्य समारोह
ललितपुर: देश–विदेशका ख्रिष्टिय अगुवाहरू, प्रतिनिधिहरू र सयौं सहभागीहरूको उपस्थितिमा नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापना भएको ५०औं वर्ष पुरा गरेको उपलक्ष्यमा भव्य स्वर्ण जयन्ती समारोह उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष एल्डर दिलबहादुर थापाले गर्नुभएको थियो भने प्रमुख आतिथ्य समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट रहनुभयो। कार्यकारी प्रमुख अर्जुन काप्रीले स्वागत मन्तव्य दिँदै सोसाइटीको पाँच दशक लामो सेवायात्रा संक्षेपमा प्रस्तुत गर्नुभयो।
समारोहमा मलेसिया बाइबल सोसाइटीका महासचिव रेभ. म्याथ्यु के. पन्नुसले "बाइबलको विश्वव्यापी प्रभाव" शीर्षकमा प्रेरणादायी सन्देश दिनुभयो। सो अवसरमा सदस्य कुबेर गुरुङको रचनामा आधारित स्वर्ण जयन्ती गीतमा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो। साथै, सोसाइटीले विगत ५० वर्षमा गरेको सेवा र उपलब्धिबारे तयार गरिएको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो।
समारोहमा जापान बाइबल सोसाइटीका महासचिव, इन्डो–चाइना एलायन्सका कार्यकारी प्रमुख रेभ. अर्न सोक नेप, र डोर इन्टरनेशनलका प्रतिनिधि रोब मेयरसहितका विदेशी अतिथिहरूले नेपाल बाइबल सोसाइटीको कार्यप्रति प्रशंसा व्यक्त गर्दै शुभकामना तथा सहयोगको प्रतिबद्धता जनाए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नयाँ संशोधित नेपाली बाइबलको विमोचन गरिएको थियो। विमोचन कार्य रेभ. डा. सिमोन पाण्डे, डा. बालकृष्ण शर्मा, र रेभ. डा. मंगलमान महर्जनलगायत वरिष्ठ पास्टरहरूले संयुक्त रूपमा गर्नुभएको थियो।
संस्थाको स्थापना र विकासमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान र प्रशंसा पत्र प्रदान गरिएको थियो। सम्मानितमध्ये रेभ. लोकनाथ मनेन, रेभ. विरबहादुर खवास, डा. के.बी. रोकाया, डा. बालकृष्ण शर्मा, पा. नबिन कुमार सुनुवार, तेज जिरेल र रेभ. अर्न सोक नेपलगायतका प्रतिष्ठित अगुवाहरू थिए।
त्यसैगरी, मातृभाषामा प्रकाशित बाइबलका विभिन्न संस्करणहरूको प्रदर्शनी, ख्रिष्टिय भजन क्वाएर र लोमी कम्युनिटी ग्रुपद्वारा प्रस्तुत सांगीतिक प्रस्तुति, तथा कविता प्रतियोगिताका विजेतालाई प्रदान गरिएको पुरस्कारले कार्यक्रमलाई थप रंगीन बनाएको थियो।
अध्यक्ष एल्डर थापाको धन्यवाद ज्ञापन र पास्टर सिमोन पाठकको अन्तिम प्रार्थनासँगै स्वर्ण जयन्ती समारोह समापन भएको थियो। कार्यक्रममा देशका विभिन्न प्रदेशबाट करिब एक हजारभन्दा बढी सहभागी उपस्थित थिए, जसले यो समारोहलाई ऐतिहासिक र अविस्मरणीय बनाएको थियो।