Nepal Newsbox
२०८३ वैशाख ८ गते , मंगलबार
Nepal Newsbox
वर्तमान राजनीतिक विकास क्रमलाई हेर्दा - Dr. BP Khanal
यो देशको वर्तमान राजनीतिक विकास क्रमलाई हेर्दा राजनीतिमा नेतृत्वको आकांक्षा राख्ने धेरैजसो मान्छेहरू साँचो "नेता" बन्नुभन्दा पनि “नायक” बन्ने दौडमा देखिन्छन्। किनभने नेता (Leader) बन्न चाहना राख्नेहरू सकेसम्म सबैको सहमति, समर्थन र सहभागिता जुटाएर काम गर्न र सो कामको जश वा अपजश दुवैका लागि आफूलाई जवाफदेही बनाउन तयार हुन्छन्। तर नायक बन्ने महत्वाकांक्षा बोकेका मान्छेहरू आफूलाई सबैले प्रशंसा, वाहवाही र जयजयकार गरून् भन्नेमा बढी चासो राख्छन् । उनीहरू आलोचना रहित वातावरण खोज्छन्—जहाँ आफूसँग कोहीकसैले पनि असहमति जनाउन नहुने, प्रश्न गर्नु नहुने र सधैंभरि सबै कुरामा सबैले ताली बजाउने "रैतीहरू" को झुण्डले आफूलाई घेरिराखेको होस् भन्ने चाहना राख्छन्।
त्यसकारण हामीलाई देशमा एउटा असल, चरित्रवान र सुयोग्य नेता चाहिएको हो । हो, अहिलेको राजनीतिक परिस्थितिमा हामीलाई चाहिएको कुरा “सामूहिक नेतृत्व” हो। राजनीतिक दलहरूले सामूहिक नेतृत्व, संवैधानिकता र समावेशिताको भावना अंगीकार गर्नैपर्छ। जब नेतृत्व साझा हुन्छ, तब राष्ट्रिय सरोकारका विषयहरूमा एउटा सक्षम नेतृत्व समूहले गर्छ, परिपक्व र सिद्ध निर्णय लिन सक्छ, जसले देशलाई सन्तुलित र स्थायी बाटोतर्फ अघि बढाउन सक्छ।
सामूहिक नेतृत्वको अभाव लम्बिएकै कारण हाम्रो देश गम्भीर संकटमा डुबेको हो । यसको निकास आपसी विश्वास, सम्मान र सहकार्य "मिलेर अघि बढ्ने" एकताबद्ध यात्रामा निहित हुन्छ।
हामीलाई यस्तो राजनीतिक दल र यस्तो नेतृत्व चाहिएको छ, जसले राष्ट्रको हितमा सहकार्य र साझा जिम्मेवारीको संस्कृति निर्माण गर्न सकोस्। म त्यस उद्देश्यका लागि कुनै पनि चुनौती स्वीकार गर्न तयार छु। यदि मेरो विगतमा वा सिद्धान्तमा कुनै कमी कमजोरी छन् भने, म त्यो सच्याउन तयार छु। अन्यथा, हामीले अब सशक्त, सामूहिक नेतृत्व निर्माणतर्फ अघि बढ्नुपर्छ।